पृष्ठभूमि तथा कार्यक्षेत्र

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) राष्ट्रिय, प्रदेश, जिल्ला तथा सामुदायिक तहमा स्वास्थ्य क्षेत्रसम्बन्धी नीतिको तर्जुमा, योजना, संगठन तथा समन्वयको समग्र जिम्मेवारी वहन गर्ने निकाय हो। मन्त्रालयको उद्देश्य प्रभावकारी तथा दक्ष नीतिगत तर्जुमा, स्रोत परिचालन, अनुगमन तथा विभिन्न स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवाको नियमनमार्फत देशमा बसोबास गर्ने सबै नागरिकको स्वास्थ्य अवस्था सुधार गर्नु हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कार्यक्षेत्र
१. स्वास्थ्य तथा पोषणसम्बन्धी नीति, कानून र मापदण्ड;
२. राष्ट्रियस्तरमा प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र निवारणसम्बन्धी स्वास्थ्य नीति, कानून र मापदण्ड;
३. स्वास्थ्यसम्बन्धी प्राज्ञिक, व्यवसायिक र पेसागत सङ्घ संस्थासम्बन्धी नीति, कानून र मापदण्ड;
४. राष्ट्रिय तथा केन्द्रीय अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरूको स्थापना, सञ्चालन र नियमन;
५. नर्सिङहोम लगायतका स्वास्थ्य संस्था स्थापना तथा सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
६. अस्पताल एवम् स्वास्थ्य संस्थाको प्रत्यायन;
७. विशिष्ट सेवाप्रदायक अस्पतालसम्बन्धी नीति,कानून, मापदण्ड र नियमन;
८. औषधी, स्वास्थ्य सामग्री तथा स्वास्थ्य प्रविधिको उत्पादन र विकास, सञ्चय, बिक्री वितरण, अन्तिम विसर्जनसम्बन्धी गुणस्तर, मापदण्ड र नियमन;
९. आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवासम्बन्धी नीति, कानून र मापदण्ड;
१०. सर्ने र नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी नीति तथा मापदण्ड;
११. अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन;
१२. स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षा;
१३. स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको मानवस्रोत विकास र व्यवस्थापन;
१४. स्वास्थ्य सेवा तथा वस्तुको शुल्कसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
१५. औषधी निगरानी र नियमन;
१६. औषधी खरिद तथा आपूर्ति व्यवस्थासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
१७. अति आवश्यक स्वास्थ्य सामग्री (खोप र परिवार नियोजनका साधन) आपूर्ति तथा व्यवस्थापन
१८. स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानसम्बन्धी मापदण्ड;
१९. जडीबुटी, जान्तव र खनिज (हर्बल, एनिमल र मिनरल) को औषधीय अनुसन्धान;
२०. स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन र स्वास्थ्य लेखा पद्धति;
२१. राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासोका जनस्वास्थ्य समस्याको निगरानी;
२२. आधारभूत स्वास्थ्य सेवा र क्षेत्रको मापदण्ड;
२३. विभिन्न तहमा आवश्यक पर्ने स्वास्थ्य सेवाको राष्ट्रिय प्रोटोकल;
२४. राष्ट्रिय रिफरेन्स प्रयोगशाला र परीक्षण केन्द्रको स्थापना, सञ्चालन र नियमन;
२५. स्वास्थ्य पर्यटन प्रवर्द्धनसम्बन्धी समन्वयः
२६. जनस्वास्थ्यसम्बन्धी आपतकालीन अवस्था, स्वास्थ्य क्षेत्रमा विपद् र महामारी व्यवस्थापन;
२७. आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको मौज्दात (बफरस्टक) व्यवस्थापन;
२८. आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा रिफरल पद्धतिको विकास;
२९. जनसङ्ख्या, बसाइसराइ, परिवार नियोजन, मातृशिशु कल्याण, प्रजनन स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति, कानून र मापदण्ड;
३०. राष्ट्रियस्तरमा जनसङ्ख्यासम्बन्धी अध्ययन, अनुसन्धान एवम् प्रक्षेपण सूचना प्रणाली;
३१. बसाइसराइ सर्वेक्षण तथा स्थिति विश्लेषण;
३२. सरसफाइ तथा स्वच्छतासम्बन्धी नीति, कानून, मापदण्ड तथा कार्यक्रमहरू;
३३. खाद्य स्वच्छतासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
३४. खाद्य क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी कार्यहरू;
३५. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
३६. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
३७. नेपाल स्वास्थ्य सेवाको संचालन ।